काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको असर कम गर्न नयाँ रणनीति आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले जलवायु परिवर्तनले स्वास्थ्य र सामाजिक क्षेत्रमा ल्याएको जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक रहेको बताउनुभयो । समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यक रहेको दाहालको धारणा ।
वातावरण परिवर्तनले मानव जीवनलाई नै अन्यौलता तर्फ धकेलेको बताउनुभयो । ‘यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्यौलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरका लागि विस्तृत कार्यक्रमको आवश्यकता औँल्याएको छ’, उहाँले भन्नुभयो ।
जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखा परेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनले निम्त्याएका चुनौतीले समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेको उहाँको धारणा छ । ‘विशेष गरी हाम्रो जस्तो अति कम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणाम ज्यादै जोखिमपूर्ण छन्’, उहाँले भन्नुभयो ।
वातावरण परिवर्तनको कारण पहिरो, बाढी, आगलागी, हिमतालको विस्फोट र खडेरी जस्ता भयावह घटना बढ्दै गएको दाहालले बताउनुभयो । यसको नियन्त्रणको लागि विश्व समुदाय एक ठाउँमा आउनु पर्नेमा उहाँले जोड दिनुभयो ।