काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन संस्कृति पार्टीको लागि घातक भएको बताउनुभएको छ ।
‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत सोमबार बिहान झापाको दमका आयोजित छलफल कार्यक्रममा कोइरालाले आफूले गठबन्धनका विषयमा यस अघि पनि पार्टीमा कुरा उठाउँदै आएको बताउनुभयो । कोइरालाले यस विषयमा भूगोलका कार्यकर्ताबाट व्यापक प्रश्न उठेकाले पार्टी भित्र छलफल हुने प्रष्ट पार्नुभयो ।
कोइरालाले अबका निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने पनि बताउनुभयो । ‘अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन गर्नुहुँदैन, हुँदैन’, कोइरालाले भन्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीय नेता कार्यकर्ताले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको बताउनुभयो । गठबन्धनले गर्दा नेतृत्वमा नैतिकताको खडेरी परेको तथा पार्टी बिचार शून्यको अवस्थामा पुगेको उहाँहरूको गुनासो थियो । कांग्रेसका कार्यकर्ताले अब माओवादी बोकेर हिँड्न नसक्ने पनि उहाँहरूले स्पष्ट पार्नुभएको थियो ।
आफ्नै पार्टीका नेता मार्ने, सहकर्मी साथीको हत्या गर्ने माओवादीलाई बोकेर हिँड्न नसकिने उहाँहरूले बताउनुभयो । आफ्नै साथीका हत्यारासँग हात मिलाउन नसकिने उहाँहरूको धारणा थियो ।
कार्यकर्ताहरूले धेरै समय एकै व्यक्ति नेतृत्वमा रहँदा पार्टीले गति लिन नसकेको बताउनुभएको छ । सरकारमा रहेका कांग्रेका मन्त्रीहरूले पनि प्रभावकारी काम गर्न नसकेको उहाँहरूको गुनासो थियो ।