अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्नेबारे कल्पना नगर्ने बताएका छन् ।ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आइतबार उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने दाबी गरे । नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि उनको भनाइ छ । उनले केही नेता मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए ।
‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौं । यसको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाला । एउटा कुरा मलाई खुसी लागेको छ । यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो,’ उनले भने, ‘नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ ।’
महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको भन्दै अब निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए । ‘नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ । यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ,’ उनले भने ।