काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशकाे अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकाे बताउनुभएकाे ।
नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभालाई शनिबार काठमाडाैंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले सरकार र निजी क्षेत्रबीचकाे सहकार्य बिना मुलुकले आर्थिक विकासमा फड्को मार्न नसक्ने बताउनुभयाे ।
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या हटाउनुपर्ने बताउँदै उहाँले भन्नुभयाे – ‘निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरू सक्नुहुन्न, सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन,देश बनाउने तपाइँ हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’
सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने भन्दै उपप्रधानमन्त्री महासेठले सरकारबाट हुन सक्ने सबै प्रकारको सहयोग निजी क्षेत्रलाई गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाइसक्नुभएको बताउनुभयाे ।
नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको भन्दै उहाँले केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको स्मरण गर्नुभयाे ।
मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन अहिलेकाे सरकार केन्द्रित भएको भन्दै उहाँले अब मुलुकको आर्थिक अवस्था यसअघिको भन्दा धेरै सुधार हुँदै जाने बताउनुभयो ।