Trending Now

अवैध लागूऔषधसहित पक्राउ

 

काठमाडौं, २३ वैशाख

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बरढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित संखुवासभा स्याबुन गाउँपालिका-२ बस्ने २९ वर्षीय सन्दिप गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-६ कोठारपुर बस्ने २६ वर्षीय रामदास भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा १३ केजी ८ सय ४० ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-१ मुक्सार टोल बस्ने २६ वर्षीय मनिन्द्र साह र सोही नगरपालिका-२ टुडकिया टोल बस्ने ३६ वर्षीय श्याम कुमार साह रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा प्र.२-०१-००१ ह ०२९८ नम्बरको अटोका चालक मनिन्द्र साहलाई ५ केजी ८ सय ४० ग्राम र प्र.२-०१-००१ ह १०५६ नम्बरको अटोका चालक श्याम कुमार साहलाई ८ केजी अवैध लागूऔषध गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-५ भण्डारा बजारबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित मकवानपुर राक्सिराङ गाउँपालिका-७ बस्ने ६८ वर्षीय ईन्द्र बहादुर मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ सन्तोषीटोल बस्ने यज्ञ ओलीसमेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २ सय ८० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यज्ञ ओलीको घरमा लागूऔषध कारोवार गरिरहेका अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने १८ वर्षीया किशोरीलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.