आगामी आर्थिक वर्षको बजेटमा मधेशलाई विशेष व्यवस्था गर्छाैं : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने आश्वासन दिनुभएकाे छ ।
शनिबार धनुषाको सबैला नगरपालिका-४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको-५ चिकना जोड्ने पक्की पुलको शिलान्याश गर्दै प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मल-बिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिइने बताउनुभयाे ।
नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको भन्दै उहाँले गेम चेञ्जर आयोजनालाई अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयाे । उहाँले मधेश, पहाड र हिमालको एकतालाई सुद‍ृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एकता कायम गर्न जिम्मेवारी आफ्नो रहेको पनि बताउनुभयाे ।
पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने भन्दै प्रधानमन्त्री प्रचण्डले निर्धारित २ वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । एक अर्ब ११ करोड बढी लगानीमा साे पुल निर्माण हुन लगाेकाे हाे ।
वर्तमान गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान संसारमै बढाएको दाबि पनि उहाँले गर्नुभयाे । नेपालको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सहभागीताको सुनिश्चिततामाथि संसारले प्रशंसा गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।