काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै प्रयासमा संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।
५९औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा बिहीबार नेपाल उत्पीडित जातीय मुक्ति समाजले तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उत्पीडित समुदायका लागि आरक्षण लगायत सुविधा एमालेकै पहलमा सम्भव भएकाे बताउनुभयाे ।
एमालेकाे अगुवाइमा गरिएकाे संघर्षकाे जगमा नै साे समुदायका हक अधिकार संविधानमा समेटिएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘आज संविधानमा लेखिएकाे छ, जसअनुसार कानुन बनेका छन् ती कानुन हाम्राे पार्टीकै पहल कदमीमा हाम्राे पार्टीकाे प्रयासमा भएका हुन्, उत्पीडित समुदायले जुन आरक्षण र सुविधा पाएकाे छ व्यवस्था पनि हाम्रै पार्टीकाे पहल प्रयास भएकाे, हाम्रै पार्टीकाे अगुवाइमा गरिएकाे संघर्ष स्वरुप भएकाे हाे ।’
एमाले सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै उहाँले यसका लागि एमाले निरन्तर लड्दै आइरहेकाे बताउनुभयाे । उत्पीडित समुदाय र महिलाहरुका लागि एमालेले एेतिहासिक काम गरेकाे भन्दै अध्यक्ष ओलीले अहिले महिलाहरु सशक्त भइसकेका र विभिन्न जिम्मेवारी लिइसकेका बताउनुभयाे ।
एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभई सबै कुराबाट निरपेक्ष तर वर्ग सचेत, अन्याय, असमानता विरोधी तथा सामाजिक न्याय र समानताको पक्षधर पार्टी भएको उहाँले स्पष्ट गर्नुभयो । समानता लागि अभियान थाल्ने र अगुवाइ गर्ने नै एमाले भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । संविधानकाे माैलिक हकमा राखिएका कुरा पनि एमालेकै पहलमा संविधानमा राखिएकाे बताउनुभयाे । समानताकाे निम्तिकाे आन्दाेलनलाई एमालेले निरन्तर अगाडि बढाइरहेकाे उहाँले बताउनुभयाे । कुनै पनि प्रकारले हेलाहाेचाे गर्ने काम अभ्यताकाे अर्काे नाम भएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको भन्दै अध्यक्ष ओलीले कोही पनि मानिस जात, धर्म, सम्पत्ति, कुलीनताको हिसाबले जन्मँदै श्रेष्ठ वा नीच नहुने स्पष्ट गर्नुभयो । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठुलो नहुने भनाइ उहाँले बताउनुभयाे ।
नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै संगठित गरेर अघि बढाउँदा जातीय विभेद अन्त्य गर्न सकिन्छ भनेर २०४५ सालमा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद विरुद्धको आन्दोलन चलाएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको र वर्तमान सरकारमा पनि दलित समुदायको प्रतिनिधित्व हुने बताउनुभयो । अध्यक्ष ओलीले सबै कुरा एकैचोटी सम्बोधन गर्न नसकिने भए पनि एमालेले सबैलाई स्थान दिने बताउनुभयो ।
कोही पनि पछाडि पर्नु हुँदैन र पछाडि छाडिनु हुँदैन भन्ने मान्यता एमालेको रहेको उहाँले बताउनुभयो । अपमान र घृणा गर्ने कुराले समृद्ध नेपाल, सुखी नेपाली बन्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । विभेद गर्ने मान्छे जतिसुकै पढेलेखेको भए पनि त्यो असभ्य मान्छे हुने बताउँदै उहाँले भन्नुभयो – ‘त्यो एक प्रकारको हिंसा हो, अपमान हो, छुवाछूत भनेको अपमान हो ।’
पछाडि परेकाे कुनैपनि समुदायलाई अगाडि बढाउनुपर्ने भन्दै उहाँले कुनैपनि हिसाबले काेही पछि पर्न नहुने बताउनुभयाे । कुनैपनि हिसाबले काेहीमाथि अन्यायपूर्ण र अपमानजनक व्यवहार गर्न नहुने भन्दै अध्यक्ष ओलीले सबैले सम्मानपूर्वक जिउन पाउनुपर्ने बताउनुभयाे । असमानता र असम्मानकाे स्थिति अन्त्य हुनुपर्ने उहाँले बताउनुभयाे ।
एमालेले समृद्ध नेपाल सुखी नेपालीलाई राष्ट्रिय गन्तव्य बनाएकाे भन्दै अध्यक्ष ओलीले एउटाले अर्काेलाई अपमान गर्ने, घृणा गर्ने जस्ता कुराले नेपाली जनता सुखी हुन नसक्ने बताउनुभयाे । त्यसले एउटा हिस्साकाे मनमा चाेट परिरहेकाे भन्दै उहाँले कसैले चाेट नपर्ने, अधिकारसम्पन्न, अवसर सम्पन्न, आधुनिक सुविधा सबैले उपभाेग गर्न पाउने र आधारभूत आवश्यकताकाे परिपूर्तिकाे स्थिति र आर्थिक उन्नति सहितकाे समाज बनाउन चाहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले समृद्धि परिपूर्ण हुनुपर्ने बताउनुभयाे ।
एमाले सुशासन, सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा एमालेले सदैव संघर्ष गर्दै आइरहेकाे प्रष्ट पार्नुभयाे ।
अध्यक्ष ओलीले राजनीतिमा संयमता जरूरी रहेको र राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको हुँदा देश र जनताको समृद्धिको माध्यम बनाउनुपर्ने बताउनुभयो । समाजको उन्नति, प्रगति, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र सबैको सुरक्षा र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।