एनसेल सेयर किनबेच छानबिन गर्न गठित समितिले प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझायो

काठमाडौं। एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।सोमबार समितिका संयोजक पूर्व महालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय समितिले प्रधानमन्त्री दाहाललाई भेटेर प्रतिवेदन बुझाएको हो।
गत मंसिर १९ गते सत्तारुढ दलहरुसँगको परामर्शपछि सरकारले एनसेल खरिदबिक्रीका विषयमा प्रश्न उठेको भन्दै छानबिन अघि बढाउने निर्णय गरेको थियो। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर किनबेचबारे पूर्व जानकारी नै नगराई किनबेच भएको विषयमा चौतर्फी चासो व्यक्त भएपछि सरकार छानबिन गर्ने निष्कर्षमा पुगेको थियो।
मंसिर २१ गते सरकारले पूर्व महालेखापरीक्षक शर्माको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। समितिमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव फणीन्द्र गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको थियो।
समितिले मंसिर २४ गतेबाट औपचारिकरुपमा काम सुरु गरेको थियो। समितिलाई ३० दिनको समयसीमा दिएर छानबिनको अख्तियारी सरकारले दिएको थियो। तर, निर्धारित समयमा समितिले छानबिन सकेर प्रतिवेदन दिन नसकेपछि सरकारले माघ १५ गतेसम्म म्याद थप गरेको थियो।जसअनुसार समितिले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।