Trending Now

ए डिभिजन : ब्वाइज र शेर्पाको अग्रता

काठमाडौँ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले दशौँ जित निकालेको छ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा नेपाल पुलिसलाई १–० ले हराउँदै शीर्ष स्थानको चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेलसँग चार अंकको अग्रता बनाएको छ। चर्च ब्वाइजको जितमा मिलन राईले गरेको गोल निर्णायक रह्यो।

पहिलो हाफको अतिरिक्त समयमा कमल श्रेष्ठले प्रहार गरेको फ्री किकको सदुपयोग गर्दै मिलन राईले हेडमार्फत उत्कृष्ट गोल गरे। भीषण वर्षा र हावाहुरीका कारण खेल केही बेर रोकिएको थियो। जितसँगै चर्च ब्वाइजले लिगमा ३६ अंक जोडेको छ। दोस्रो स्थानको जावलाखेलको ३२ अंक छ।

आजै भएको खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई ३–२ गोल अन्तरले हराउँदै शेर्पाले अंक तालिकामा अग्रता बनाएको छ।

शेर्पाको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र आबायोमी फाकुन्लेले गोल गरे। एपिएफका लागी सनीश श्रेष्ठ र युवराज खड्काले गोल गरे।

खुमलटार र त्रिभुवन आर्मी क्लबबीचको खेल भने बराबरीमा टुङ्गिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

आर्मीका लागि जगदीश श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गरे। खुमलटारका लागि मेसुके ओलेमाओ र स्टेफेन समिर बिनोङले गोल गरे। बराबरीसँगै आर्मीले २६ अंक बनाएको छ। १८ अंक जोडे पनि खुमलटार लिगको पुछारमा यथावत् छ।

 

Comments are closed.