ए डिभिजन : संकटमाथि मच्छिन्द्रको रोमाञ्चक जित‚ एपिएफ र एनआरटीबीच बराबरी

काठमाडौं : साविक विजेता मच्छिन्द्र फुटबल क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटालाई पराजित गरेको छ। ​त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ती मगरले १/१ गोल गरे भने संकटाका जुनियर एनकेनगुएले १ गोल फर्काए। अविरल वर्षासँगै हिलाम्मे मैदानमा भएको प्रतिष्पर्धामा मच्छिन्द्रले चौथो मिनेटमा देवेन्द्र तामाङको गोलबाट अग्रता लिएको थियो। देवेन्द्रले युटा सुजुकीको कर्नरमा पुजन उपरकोटीले प्रहार गरेको बल संकटाका गोलकिपर टिकेन्द्र थापाले बचाउने प्रयास गर्दा रिबाउन्ड भएको बललाई पोस्टको दिशा दिएका थिए।

त्यसपछि पहिलो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। ६९औं मिनेटमा ओलावालेले मछिन्द्रको अग्रतालाई दोब्बर बनाए। ओलावालेले शौरव लिम्बूको क्रसलाई गोलमा परिणत गरेका थिए। ७८औं मिनेटमा संकटाका जुनियरले गोल गर्दा खेल २–१ को स्थितिमा पुगेको थियो।

खेल सकिन एक मिनेट बाँकी रहँदा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित निश्चित गराए। यससँगै मच्छिन्द्रले संकाटविरुद्ध दुवै खेलमा जित निकाल्न सफल भएको हो। पहिलो लेगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो।

यस जितसँगै मच्छिन्द्र १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजासहित २१ अंक जोडेर  पाँचौं स्थानमा उक्लिएको छ। पराजय बेहोरेको संकटा १४ खेलबाटै ४ जित, ४ बराबरी र ६ हारको नतिजासहित १६ अंकका साथ ११औं स्थानमा झरेको छ।

लिगअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको अन्त्यतिर १० खेलाडीमा सीमित भएको एनआरटीविरुद्ध एपिएफले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएको थियो।

एन्फा मुख्यालयको मैदानमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। पहिलो हाफभन्दा दोस्रो हाफमा आक्रामक देखिएको एनआरटीले ५८औं मिनेटमा अग्रता निकालेको थियो। एनआरटीका लालनुनजामाले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको इन्जुरी समयमा एपिएफका डिफेन्डर एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई हारबाट जोगाए। बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ। एपीएफ सातौं स्थानमा रहेको छ।

एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ। एनआरटी नवौं स्थानमा रहेको छ।

लिगमा शुक्रबार १५ औं चरणका खेल हुनेछन्। जसअन्तर्गत जावलाखेल र खुमलटार युथ क्लबले एन्फा मुख्यालयमा प्रतिष्पर्धा गर्दा दोस्रो खेल नेपाल पुलिस र हिमालयन शेर्पाबीच च्यासल मैदानमा हुनेछ।

Comments are closed.