औद्योगिक विकास नै आर्थिक विकासको मेरुदण्ड : मन्त्री रिजाल

नवलपरासी पश्चिम् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रको विकासले नै देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । औद्योगिक लगानीलाई आकर्षित र निर्यात प्रवर्द्धन गर्दै रोजगारीका अवसर समेत वृद्धि गर्ने गरि वर्तमान सरकारले औद्योगिक क्षेत्र घोषणा र यसको विकासलाई प्राथमिकता दिएको मन्त्री रिजालले उल्लेख गर्नुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोला क्षेत्रमा ‘बर्दघाट नमुना औद्योगिक ग्राम’को शिलान्यास गर्दै मन्त्री रिजालले औद्योगिक ग्रामको स्थापनाले छरिएर रहेका साना उद्योगहरू समेत एकीकृत हुने हुँदा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले औद्योगिक ग्राम खुल्नु मात्रै ठूलो कुरा नभई आयोजनाले पूर्णता पाउनु महत्त्वपूर्ण रहेको बताउनुभयो । देशमा घोषणा गरिएका कयौँ उद्योगहरू योजनामै सीमित रहेको बताउँदै चौधरीले यहाँ निर्माण हुने औद्योगिक ग्रामले देशभित्रै प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गरिनुपर्ने बताउनुभयो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले औद्योगिक ग्रामको निर्माणले रोजगारीसँगै बर्दघाटको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक बर्ष ०८०/०८१ मा उक्त ग्राम निर्माणको काम अघि बढाउन तत्कालका लागि कुल ४ करोड रुपैयाँ बिनियोजन गरेको थियो । मन्त्रालयले प्रारम्भिक चरणको काम अघि बढाउन आव्हान गरेको बोलपत्र अनुसार सो कार्य गर्न रु दुई करोड ९३ लाख रुपैयाँमा रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभिले जिम्मा पाएको छ ।

प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधिक रवीन्द्र शाहले जानकारी दिनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ ।

उद्योग ग्राम भित्र स्थापना हुने साना तथा मझौला उद्योगहरूका लागी उद्योग परिसरमा आवश्यकता अनुसारको भौतिक पूर्वाधार, उत्पादन र प्रदर्शनी स्थल, फोहर प्रशोधन केन्द्र, सञ्चार सडक, बिजुली, नाला, आवश्यक औद्योगिक विभिन्न संरचनाहरू निमार्ण हुने छन् ।

उद्योग राममा कुल ९० वटा प्लटमा ९० बाट साना घरेलु तथा मझौला उद्योगहरू सञ्चालन हुने गरी उद्योगका लागि आवश्यक सबै संरचना निमार्ण गर्ने आगामी योजना रहेको छ ।

उक्त नमुना उद्योग ग्राम क्रमागत रुपमा निमार्ण हुँदै जाने छ । उद्योग तथा आपूर्ति मन्त्रालयले नमुना उद्योग ग्रामको रुपमा निर्माण गर्ने भए पनि ग्रामको सञ्चालन तथा व्यवस्थापन बर्दघाट नगरपालिकाले गर्ने छ ।