काठमाडौँ । काठमाडौँ उपत्यकाका कवाडी व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।
सरकारले सरसफाइका लागि लगानी गर्नुको साटो कवाडी पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजेको आरोप लगाए । आइतबार कवाडी समुदायको जुलुस शंखमुलदेखि त्रिपुरेश्वर, सुनधारा हुँदै प्रदर्शनीमार्ग काठमाडौँ पुगेर विरोध सभामा परिणत भएको छ ।
संविधान, श्रम तथा रोजगारीको हक अधिकार, मानव अधिकार लगायत मूल्य र मान्यता विपरीत उचित व्यवस्थापन बिना महानगरले कवाडी हटाउने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ ।
आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आजको ¥याली काठमाडौँ महानगरपालिकाले व्यवसायलाई राज्यको कानून विपरीत दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताए । महानग्रले कवाडी पेशालाई अध्ययन नै नगरी गलत ढंगले व्याख्या गरी व्यवसायीलाई लखेटेको बताए ।
उनले यथाशिघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रूपमा अघि बढाउने चेतावनी दिए । त्यस्तै आन्दोलनमा सहभागी सञ्जय साहले महानगर पम्रख बालेन्द्र साहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाए । मेयरले लाखौँ युवाको रोजगार खोस्ने अधिकार नरहेको जिकिर गरे ।
आन्दोलनमा सहभागीहरूले अदालतको निर्णयको सम्मान गरौँ, अनाधिकृत ढंगले कवाडी अटाउने कार्य बन्द गरौँ । कवाडमाथि डोजर चलाउने कार्य बन्द गर, कानूनी शासन लागू गर, कवाडी एकता जिन्दाबाद लगायतका प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका हुन् ।