कांग्रेसको पहिलो जिम्मेवारी गठबन्धन स्थिर र स्थायी बनाइराख्नु हो : प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसको पहिलो जिम्मेवारी वर्तमान सत्तारुढ गठबन्धनलाई स्थिर र स्थायी बनाउनु रहेको बताएका छन् ।

मङ्गलवार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले कांग्रेसको पहिलो जिम्मेवारी सत्तारुढ गठबन्धनलाई स्थिर र स्थायी बनाइराखेको बताएका हुन् । उनले सरकारलाई स्थिर बनाउन संसदभित्र कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको बताए । उनले कानुन निर्माणमा गठबन्धन दलहरूकै बीचमा हुने फरक विचारहरूमा पनि सामजस्यता गरेर जानुपर्ने अवस्था रहेको बताए ।

उनले भने ‘हाम्रो पहिलो जिम्मेवारी भनेको अहिलेको गठबन्धनलाई स्थिर र स्थायी बनाइराख्नुपर्ने पहिलो जिम्मेवारी छ । विभिन्न राजनीतिक दलहरूको गठबन्धनमा सरकार बनेको छ, त्यो सरकारलाई स्थिर बनाउन, स्थायी बनाउनको निमित्त सदनभित्र नेपाली कांग्रेसले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको छ । गठबन्धनभित्र कानुन निर्माण गर्ने सवाल र कतिपय नीतिगत तथा व्यवहारिक सवालहरूमा गठबन्धन भित्रै उत्पन्न हुने विभिन्न विचारहरूका बिचमा पनि सामञ्जस्य गरेर कांग्रेस अगाडी जानुपर्ने अवस्था छ ।’

प्रमुख सचेतक लेखकले संसदभित्र प्रमुख प्रतिपक्ष दल आक्रमक रहेको बताए । यद्यपी प्रमुख प्रतिपक्ष दल परिपक्व तर अधैर्य रहेको उल्लेख गरे । अन्य प्रतिपक्ष दलहरू आक्रामक, अधैर्य र अपरिपक्व भएको बताए । काँग्रेसले सत्तारुढ दलहरू भित्र मात्रै होइन प्रतिपक्ष दलहरूसँग समेत समन्वय गर्नुपर्ने उनले बताए ।

उनले भने ‘प्रतिपक्ष आक्रामक छ । प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रामक मात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ । अरू प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । र नयाँ नयाँ संसदीय अभ्यासमा भएका हुनाले यदाकदा अपरिपक्वता पनि देखिराखेको अवस्था छ । त्यस भएको हुनाले सत्ता गठबन्धन भित्र मात्रै सामजस्यता र समन्वयकारी भूमिका होइन की प्रतिपक्षसँग पनि सामजस्य र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सु–सञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसको छ ।’

उनले संसदीय समितिका सभापतिको चयन तत्काल गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विधेयकहरू तत्काल पारित गर्नुपर्ने पनि बताए । लेखकले पार्टीको संसदीय दलको कार्यसमिति तत्काल बनाउनुपर्ने, विषयगत समितिलाई पनि सुचारु गर्नुपर्ने र संसद् बैठकमा पार्टीका सांसदहरूको नियमित उपस्थिति हुनुपर्ने कुरामा पार्टीको ध्यानाकर्षण गराए ।