कांग्रेसबाट धोका भएकाले नयाँ समीकरण बनाएका हौँ’: प्रधानमन्त्री दाहाल

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
दाहालले अघल्लो सत्ता गठबन्धनमा कांग्रेसबाट धोका भएको बताए । ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन,’ उनले भने, ‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’
दाहालले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेका पनि जनाएका छन् । ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ,’ दाहालले भने, ‘पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ । हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’
गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको पनि उनले बताए । केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।