कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै, प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
यस वर्ष कांग्रेसले सङ्घीय राजधानी काठमाडौँमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
आज दिउँसो १ बजे काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रुपमा आयोजना हुने उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने प्रमुख विश्वकर्माले बताए । मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएका नेता कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिने बित्तिकै सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका कांग्रेस नेताहरु राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किएका थिए ।चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी संग्रहालयका रुपमा परिणत गरिएको छ ।