Trending Now

काभा महिला भलिबलको उपाधि भारतलाई

काठमाण्डौं । काभा महिला च्यालेञ्ज कप भलिबल २०२३ को उपाधि भारतले जितेको छ । भारतले प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको हो ।

त्रिपुरेशरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आईतबार भएको फाइनल खेलमा भारतले कजस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१५ अन्तरले सहज रुपमा जितेको भारतलाई दोश्रो सेटमा भने कजस्तानले उत्कृष्ट चुनौंति दिएको थियो । र पनि भारतले दोश्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

तेश्रो तथा निर्णायक सेटमा पनि भारतले उत्कृष्ट प्रदर्शन गर्यो । तेश्रो सेटमा शुभारम्भदेखि नै दबदबा बनाएको भारतले अन्तिमसम्म उक्त लयलाई कायम राख्यो । भारतले तेश्रो सेट २५–१८ ले जित्न सफल भयो ।

पहिलो पटक काभा भलिबलको उपाधि विजेता भारतले प्रतियोगिता अवधिभर पराजित रहदै उपाधिमाथि कब्जा जमायो । भारत लिग चरणको खेलमा आयोजक नेपालसङ्ग एक सेटमा मात्र पराजित भएको थियो ।

काजकस्तान सेमिफाइनलमा आयोजक नेपाललाई पाँच सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । युवा टोलीले भरिपूर्ण कजकास्तानको टोलीले फाइनलमा भारतबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिए पनि अपेक्षा अनुरुप खरो उत्रिन सकेन ।

महिला भलिबलको फाइनल खेल हेर्न युवा तथा खेलुकदमन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल भलिबल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसअघि आज नै तेश्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेश्रो हासिल गरेको थियो ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जेठ ७ गतेदेखि संचालित प्रतियोगितामा ८ राष्ट्रको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान रहेका थिए ।

Comments are closed.