कामनपाको प्रस्ताव- करको दायरामा नआएका युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव भएको छ ।

काठमाडौं महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको हो ।

करको दायरामा नआएका ३५ वर्ष भन्दा कम उमेरका युवा उद्यमीहरूको उद्योगले २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उनले नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरेको बताइन् । त्यस्तै महानगरले चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटाउने प्रस्ताव गरेको छ ।

सोही बराबरको रकम पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा थप गर्ने प्रस्ताव ल्याएको बताइन् । राजश्व प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जरुरी देखिएको उपप्रमुख डंगोलले बताइन् ।

उनले भनिन् ‘चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा संशोधन प्रस्ताव तयार गर्दा स्वीकृत कुल बजेट रकममा कुनै थप घट, नगरी केही क्रियाकलापमा मात्रै संशोधनको प्रस्ताव पेस गरेको छु । संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप हुन गएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम तथा बजेटमा प्रस्ताव गरिएको संशोधनको विस्तृत विवरण सभाका सदस्यहरूलाई उपलब्ध गराइएको छ । राजश्व प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जरुरी देखिएको छ । हालको वित्तीय बजार र आर्थिक अवस्थालाई मध्यनजर गरी करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्ष भन्दा कम उमेरका युवाको नाममा दर्ता भई सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाहरूले २०८१ असार मसान्तसम्म कर दाखिला गरे जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरेको छ ।’

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको र सञ्चित कोषबाट हुने आय तथा व्ययमध्ये कुल विनियोजित रकम २४ अर्ब ४ करोड ५४ लाख १ हजारमा चालु आर्थिक वर्षको पुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको बताएको छ ।

उपप्रमुख डंगोलले हालसम्म पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको बताइन् । उनले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ३६.४७ प्रतिशत खर्च भएको बताइन् ।

राजश्व आम्दानीतर्फ चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएकोमा पुस २६ गतेसम्म कुल ४ अर्ब ७६ करोड ३३ लाख १२ हजार ६२४ रुपैयाँ राजश्व सङ्कलन भइसकेको बताइन् । आन्तरिक राजश्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ रहेकोमा आन्तरिक आय अन्तर्गत २ अर्ब ८७ करोड ७८ लाख ९८ हजार ८७७ रुपैयाँ राजश्व सङ्कलन भइसकेको बताइन् ।

उनले भनिन् ‘नगरसभाको १३ औं अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको छ । सञ्चित कोषबाट हुने आय तथा व्ययमध्ये कुल विनियोजित रकम २४ अर्ब ४ करोड ५४ लाख १ हजारमा चालु आर्थिक वर्षको पुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । जुन कुल विनियोजनको १७.७८ प्रतिशत हुन आउँछ । हालसम्म पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ । यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको देखिन्छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ३६.४७ प्रतिशत खर्च भएको देखिन्छ । विकास निर्माण कार्यको भौतिक प्रगति बढी भएपनि कतिपय खर्च भुक्तानी प्रक्रियामा रही रेखाङ्कन भई नसकेको कारण वित्तीय प्रगति कम देखिएको छ । राजश्व आम्दानीतर्फ चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजश्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ रहेको छ । पुस २६ गतेसम्म कुल ४ अर्ब ७६ करोड ३३ लाख १२ हजार ६२४ रुपैयाँ राजश्व सङ्कलन भइसकेको छ । जसमा आन्तरिक आय अन्तर्गत २ अर्ब ८७ करोड ७८ लाख ९८ हजार ८७७ रुपैयाँ रहेको छ । कुल आम्दानीको लक्ष्यअनुसार प्रगति ४४.०७ रहेको छ । आन्तरिकतर्फ कुल लक्ष्यको ४५.०२ प्रतिशत प्रगति भएको छ । विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमहरूका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव गर्नुपरेको हो ।’

उपप्रमुख डंगोलले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमहरूका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले महानगरपालिकाले संशोधन प्रस्ताव गर्नुपरेको स्पष्ट पारिन् ।