चितवन। नेपाल किसान महासंघले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँच बुँदे मागपत्र बुझाएको छ। प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा महासंघले विरोध गरेको छ।कृषि ब्याज अनुदान कर्जामा ५ प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरेकोमा महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। अनुदानलाई निरन्तरता गरिनुपर्ने लगायतका माग महासंघको छ।
जिल्ला अध्यक्ष नीलकण्ठ रिजाल नेतृत्वको टोलीले मागपत्र बुझाएको हो। चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूल लगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने, वाग्मती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्यांक संकलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा समयमै उपलब्ध गराउनुपर्ने माग राखिएको छ।
महासंघको टोलीसँग मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताए। किसानलाई सम्बोधन गर्न सरकारले सोहीअनुसारको बजेट विनियोजन गरेको उनको भनाइ थियो। उनले भने ‘कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने भएकाले सबै मिलेर यस क्षेत्रको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ।’ रासस