गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘बुख्याचा’को संज्ञा दिएका छन् ।आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए ।
ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए ।
अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसन तन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए ।साथै उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको उनले भनाइ छ ।