गठबन्धन सरकारकाे गतिविधिले देश लथालिंङ, राष्ट्रियतामा एक पछि अर्को चुनौती : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले देशका सामु एक पछि अर्को चुनौती र संकट थपिँदै गएको बताउनुभएको छ ।

एमाले केन्द्रीय स्कुल विभाग प्रमुख समेत रहनुभएका ज्ञवालीले शुक्रबार कपिलबस्तुमा आयोजित प्रशिक्षणको उद्घाटन गर्नुहुँदै सरकारका सबै अङ्ग असफल भएका बताउनुभयो । ‘राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदै छ, अर्थतन्त्र लथालिंङ छ’, ज्ञवालीले भन्नुभयो ।

देशको आर्थिक अवस्था अहिले अति कमजोर अवस्था पुगेको ज्ञवालीले बताउनुभयो । गठबन्धन सरकारकाे गतिविधिका कारण सर्वसाधारणले भान्सा चलाउनै नसक्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । ‘उद्योग व्यवसाय आधा पनि चलेका छैनन्, देश लथालिंङ भएको छ’, ज्ञवालीले भन्नुभयो ।

फरक प्रसङ्गमा उपमहासचिव ज्ञवालीले एमालेका नेता कार्यकर्तामा नवीनतम ज्ञान प्रविधि सञ्चालन गर्ने सिप र प्रस्तुतीकरणमा एकरूपता आवश्यक रहेको बताउनुभयो । त्यसैको लागि एमालेले ७७ वटै जिल्लामा प्रशिक्षण चलाएको बताउनुभयो ।

एमालेले पार्टीका सबै नेता–कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गरिने पनि ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीले वडा सदस्यदेखि प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तिको लागि समेत पार्टी प्रशिक्षण अनिवार्य रहेको बताउनुभयो ।