गठबन्धन सरकार देश भत्काउन बनेको हो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देश नबनाउने बताउनुभएको छ ।
बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार देश विकासको गति रोक्न बनेको बताउनुभयो । ‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि त बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर त्यो भत्काउन बनेको हो’, ओलीले भन्नुभयो ।
एमालेले विकासको काम गरी रहको बेलो त्यसलाई रोक्न गठबन्धन बनेको उहाँले बताउनुभयो । एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताउनुभयो । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै ओलीले आलोचना गर्नुभयो ।
अहिले देशको अवस्थाको बारे चर्चा गरेर समय बरबाद गर्नु बाहेक केही नहुने ओलीले बताउनुभयो । गठबन्धनको कारण देश बरवादी तर्फ उन्मुख भएको उहाँको धारणा छ । ‘देश ओरालो लागेको छ’, ओलीले भन्नुभयो ।
विदेशमा गएका युवाले पठाएको रेमिट्यान्सले अहिले देश चलिरहेको ओलीले बताउनुभयो । यदि त्यो बन्द हुने हो भने दशे बरबाद हुने उहाँले प्रष्ट पार्नुभयो । यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको ओलीको भनाइ छ ।
सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउँदै ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताउनुभयो । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेको ओलीको भनाइ छ ।