काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस भइरहेको बताउनुभएकाे छ ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक रहेकाे बताउनुभयाे ।
‘अहिले देशमा एकथरी तत्त्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरी संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्, इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै संस्कृतिहरू समान रूपमा मौलाउन र विकास हुन सक्छन्, त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्यवस्था उल्ट्याउन खोज्ने तत्त्वहरूविरुद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ’- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउने बताउनुभयाे ।
मुलुकका समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सवलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु दायित्व मात्रै नभई अधिकार पनि भएको बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनुभयो ।
नेपाल संवत्लाई राष्ट्रिय संवत्का साथै सरकारका दस्तावेजमा लेख्नुपर्ने निर्णय गरेको भन्दै उहाँले विस्तारै अब राष्ट्रिय संवत् नेपाल संवत् मात्रै हुने बताउनुभयो ।
सातदोबाटोदेखि चाँपागाउँसम्मको सडक विस्तारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री प्रचण्डले जनाउनुभयाे ।