काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा तीन अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा गरेको दाबी गरेको छ ।२५औं वार्षिकोत्सवका अवसरमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफा तीन अर्ब ४९ करोड १५ लाख रहेको जनाएका हुन् । प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको तथ्यांक पनि उनले प्रस्तुत गरे ।
प्राधिकरणको आम्दानी आर्थिक वर्ष ०५६/५७ मा ९१ करोड ८४ लाख रहेकामा आर्थिक वर्ष ०७९/८० मा आइपुग्दा १३ अर्ब ५१ करोड पुगेर १५ गुणाले वृद्धि भएको उनले बताए ।अहिले नेपालमा ३ अन्तर्राष्ट्रिय विमानस्थल छन् भने आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको छ । कोरोनाका कारण आर्थिक रुपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र २०२२ मा सुधारोन्मुख हुँदै चालु अवस्थामा पुरानै अवस्थामा फर्किएको महानिर्देशक अधिकारीले उल्लेख गरे । उनले आन्तरिक उडानतर्फका यात्रुको संख्या पनि उल्लेख्य रुपमा बढेको जानकारी दिए ।