काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे । उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको बताए ।
सभामुख घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्नेकुराको छलफल हुन जरुरी रहेको बताए । उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्नुको कारण पत्ता लगाई यथोचित सम्बोधन हुन जरुरी रहेको बताए ।
उनले देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरमाथि ल्याउन विद्यार्थीलाई सुलव शिक्षा दिन जरुरी रहेको बताए ।
उनले गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताए ।