गृहमन्त्री लामिछाने ३० वर्षे सेवाहद हटाउने पक्षमा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद हटाउनुपर्ने नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जोड दिएका छन् । यसबाट कसैलाई घाटा तथा कसैलाई नाफा भए पनि कसैले त्याग गर्नैपर्ने उनले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणपछि उनले यस विषयमा आफ्नो प्रष्ट धारणा राखेका हुन् ।‘३० र्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ। तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ,’ उनले भने, ‘यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ। कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ। व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ।’सरुवा बढुवामा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने घोषणा गरेका छन् ।
‘राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहान्छु,’ उनले भने,‘र, त्यसको सुरुआत पहिलोपटक गृहमन्त्री हुँदा डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा गरेको थिएँ। त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ ।’
कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक रहेको भन्दै त्यसको योजना बनाएर ल्याउन उनले निर्देशन दिएका छन् ।
आफु कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यस वापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएका नभई केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।प्रहरीमा हस्तक्षेप गर्ने अवस्था नआउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस्। अनावश्यक भारी नबोक्नुहोस्। निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस्। नीति र विधिभित्र रहेर काम गर्नुहोस्,’ उनले भने,‘ कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस्। मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन। तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ।’