गृह मन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा कांग्रेसले बोल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बोल्न नदिने भएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म रोष्टममा बोल्न नदिने कांग्रेसले निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म लामिछानेको जवाफ नसुन्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेसले उठाएको माग सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ‘त्यसबाट सहकारी ठगीमा गृह मन्त्रीको संलग्नता छ भन्ने कुरा स्पष्ट हुँदै छ, होइन भने समिति गठनमा किन आपत्ति भयो ?’, उहाँले भन्नुभयो ।
भोलि प्रतिनिधि सभा बैठकमा गृह मन्त्रीले सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । भोलि संसदमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा गृह मन्त्रीले जबरजस्ती गर्न खोजे कांग्रेस सोही हिसाबले प्रस्तुत हुने उहाँले चेतावनी दिनुभयो ।
उपनिर्वाचनको लागि उम्मेदवार तय गर्न बसेको बैठकले मूल काम भने गर्न सकेन । त्यसका लागि भोलि दिउँसो चार बजे बैठक बोलाइएको उहाँले बताउनुभयो ।