चालु आर्थिक वर्षको झन्डै ६ महिनामा १९ अर्ब रुपैयाँको औषधि र खोप नेपाल भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब रुपैयाँको औषधि र खोप नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षमा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।
सो मूल्य बराबर आयात ९५ लाख ९० हजार २८६ किलो औषधि र ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । १६ अर्ब ९० करोड ८९ लाख ५७ हजार रुपैयाँको ९५ लाख ९० हजार २८६ किलो औषधि र ३ अर्ब ५ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबर ३७ लाख ५७ हजार ७५१ पिस खोप आयात भएको हो ।
सो बापत् सरकारले ९६ करोड २६ लाख १६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । यी औषधि भारत, अमेरिका, जापान, बेल्जियम, चीन, इन्डोनेसिया, इटाली, पाकिस्तान, अस्ट्रेलिया लगायत विभिन्न मुलुकबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।