हेटौंडा । दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा कार्यरत् छैठौं तहका अधिकृत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई अधिकृत रामचन्द्र अर्यालले नेपाली नागरिकता दिलाएका थिए ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।