चुनाव जित्न नसके रुवाबासीको अर्थ हुँदैन : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा चुनाव जित्न नसके रुवाबासीको अर्थ नहुने बताउनुभएको छ ।
नेपाल ड्मोक्रयाटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अधिकांश स्थानीय सरकार लगायत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने बताउनुभयाे ।
आगामी चुनावका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उहाँले बताउनुभयो । महामन्त्री थापाले आगामी चुनावमा कांग्रेसले घोषणापत्र बनाइ ५ वर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने बताउनुभयो ।
संघीयता कार्यान्वयन गर्नका लागि आवश्यक कानुन नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न अप्ठेरो देखिएको उहाँले बताउनुभयो ।
फागुनमा प्रिबजेट छलफल हुने भन्दै महामन्त्री थापाले यसपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको पनि बताउनुभयाे ।