काठमाडौं । ललितपुरको बालकुमारीमा गत पुस १३ गते प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित डिएसपी उमेश लम्साल र पिएसओ बोधराज दुनुवार दोषी रहेको निष्कर्ष निकालेको छ ।
मन्त्री ज्वालालाई कारबाहीका लागि प्रधानमन्त्रीलाई सिफारिस गर्न सुझाव सहितको प्रतिवेदन आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।
त्यस्तै, आयोग स्रोतकाअनुसार बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डिएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ सई दुनुवारलाई पनि दोषी किटान गरिएको छ ।
ललितपुरको बालकुमारी घटना छानबिन आयोगले बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ ।कोरियन भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरीले बल प्रयोग गर्दा २ जनाको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग’ गठन गरेको थियो ।आयोगले ४४ दिनमा गृहमन्त्री श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो