जनकपुरका मेयर साह यस वर्षका ‘महामूर्ख’ घोषित

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । प्रत्येक वर्षझैँ यस वर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मेयर साहलाई वर्षकै ‘महामूर्ख’ घोषित गरिएको हो ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यस क्रममा एक विशिष्ट व्यक्तित्वलाई ‘महामूर्ख’को उपाधि दिने गरिन्छ ।

मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो ।

त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, बिरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी, डा. सोनु कुमार साहलाई बज्रकीट र ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

Comments are closed.