जोसुकैले एसिड पाउने अवस्था अन्त्य गर्नुपर्छ, पीडितका विषयमा प्रधानमन्त्रीसँग कुरा गर्छु’:केपी शर्मा ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसले पनि सजिलै एसिड किन्न पाउने व्‍यवस्था हटाउनुपर्ने बताउनुभएकाे छ ।

एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’काे शुभमुहुर्त कार्यक्रमलाई आइतबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले एसिड बिक्री वितरणमा कडाइ गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

एउटा प्रावधान बनाएर मात्र एसिड बिक्री वितरण गर्नुपर्ने भन्दै उहाँले कसले, किन, कुन प्रयाेजनका लागि, कति मात्रामा एसिड लगेकाे छ भन्ने कुरामा प्रशासन सजग हुनुपर्ने बताउनुभयाे ।

प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यसमा प्रशासनिक सजगता हुनुपर्छ, एसिडकाे उपलब्धता नै हुनुहुँदैन, कसले एसिड किनेकाे हाे, के प्रयाेजनका लागि किनेकाे हाे, कति मात्रामा किनेकाे हाे, त्यति मात्रा प्रयाेग भयाे कि भएन, बाँकी रह्याे भने त्याे फिर्ता गर्नेसम्मका प्रबन्ध व्यवस्थित र कडाइ गरेर मात्र एसिड बिक्री वितरण गर्ने, आवश्यक परेकालाई उपलब्ध गराउने खालकाे परिपाटी विकास गर्नुपर्छ, जाेसुकैले जहाँसुकै एसिड प्राप्तै गर्न नसक्ने व्यवस्था गर्नुपर्छ, उपलब्धै नहोस्,परिभाषित ढंगले मात्रै उपलब्ध होस् ।’

अध्यक्ष ओलीले एसिड पीडितहरूका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर एउटा एजेण्डाको रुपमा नै छलफल गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले भन्नुभयाे – ‘मैले यस विषयमा शीर्ष नेताहरुकाे तहमा, प्रधानमन्त्रीजीलाई भेटेरै कुरा गर्नेछु, यस एजेण्डामै छलफल गर्नेछु, जतिबेला याे कानुन ल्याइयाे अहिलेका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्याे, त्यसकारण मैले याे विषयमा उहाँकाे ध्यानाकर्षण गराउनेछु, ।’

एमाले कडा कानुनकाे पक्षमा रहेकाे भन्दै अध्यक्ष ओलीले कडा कारबाही गर्ने कुरामा आफूहरु लाग्ने बताउनुभयाे । सबैलाई यसमा लाग्न समेत उहाँले आग्रह गर्नुभयाे । अपराधरहित प्रणाली स्थापना गर्नु नै सुशासन भएकाे भन्दै उहाँले कसैले पीडित हुनै नपर्ने अवस्था हुनुपर्ने बताउनुभयाे । पीडित भइहाले तत्काल न्याय पाउनुपर्ने र पीडकलाई कडा भन्दा कडा सजायकाे व्यवस्था गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

राजनीति भनेकाे देश र जनताका लागि राजनीति गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले एसिड पीडितकाे पीडा सबैकाे साझा पीडा भएकाे बताउनुभयाे । एसिड पीडितकाे कुरा नेताकाे सराेकार भन्दा परकाे भनेर भन्न नमिल्ने उहाँले बताउनुभयाे । याे विषय आफूले संसद्‍मा पनि उठाउने भन्दै अध्यक्ष ओलीले आफूले कहिले कहिले मात्र सदनमा बाेल्ने गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । धेरै विषय विश्लेषण गरेर धेरै विषयका बारेमा आफू सदनमा बाेल्ने भन्दै उहाँले एसिड पीडितकाे विषय नछुटाउने प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रममा उपस्थित एमाले सांसद् सुनिता बराल र राप्रपा सांसद् ज्ञानेन्द्र शाहीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले उहाँहरुले याे विषय तत्काल सदनमा उठाउन सक्ने पनि बताउनुभयाे ।