काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध परेकाे रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
टिकटकमा प्रतिबन्ध लगाउने सरकारकाे निर्णय विरुद्ध परेका १४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्चले मंसिर ५ गते कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति ताेकेको थियो ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर गते १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।
सामाजिक सद्भाव बिगार्ने काम गरेकाे भन्दै कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेकाे थियाे । सरकारकाे निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वाेच्चमा रिट दायर गरेका थिए ।