ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थाल्यो काठमाडौं महानगरपालिकाले

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ । यो कामको प्रारम्भ ५ वटा वडाबाट भएको छ ।

वडा नं. ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरः÷खास्ती), वडा नं. ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको छ ।

खोज कार्यबाट नर नरः –हाँडीगाउँ) मा ५२ वटा, खस्योर ÷ खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरु अब प्रचलनमा ल्याइनेछन् ।

ठाउँको पुरानो नाम खोज्नु पर्ने कारणका बारेमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिदै गयो । काठमाडौंको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’

नाम पुनरुत्थानका सम्भावित चुनौतीका विषयमा थप्दै संगतले भन्नुभयाे, ‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । यी दुई नाममध्ये प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग अनुरोध गर्दछु । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ । काठमाडौँको गरिमा यसैमा छ ।’

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात, संस्कृतिविद, इतिहासविद, पुरातत्वविद, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरुसँग सोधेर प्रशोधन गरेको छ ।

अध्ययनका लागि स्थलगत अवलोकन भ्रमण र अन्तरवार्ताका क्रममा यही विषयमा अध्ययन गरिरहेका अन्य पक्षसँग पनि भेट भएको थियो । ती अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरु वास्तविकता पहिचान गरिएको छ । अध्ययन सहकार्य र यसबाट प्राप्त सूचनाको आधिकारिकताका विषयमा सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिइन् । केन्द्रले ३ वटा ढाँचामा प्रतिवेदन बुझाएको छ ।