डा. लेखनाथ न्यौपानेको कृति ‘मेरो देश’ सार्वजनिक

काठमाडौं, डा.लेखनाथ न्यौपानेद्वारा लिखित ‘मेरो देश’ कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट विद्वान्, सर्जक, प्राध्यापकहरूको उपस्थितिमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रा.डा. गोविन्दराज भट्टराई रहनुभएको थियो । सबै स्रष्टा, अतिथिलाई डा. केशवप्रसाद न्यौपानेले स्वागत गर्नुभयो । विमोचनमा पूर्व गृहसचिव वामनप्रसाद न्यौपानेले शुभकामना मन्तव्य दिनुभयो ।
होमियोपेथिक चिकित्सा क्षेत्रमा लामो समय काम गर्नुभएका डा. न्यौपानेले सिङ्गो देशलाई कृतिमा उतार्नुभएको वक्ताहरूले बताउनुभयो । समग्र देशलाई अध्ययन गरेर नेपालका दुर्गम क्षेत्रका अवस्था, स्थिति र पर्यटकीय सम्भावनाको समेत खोज गरिएको यो पुस्तक १२ वर्षको समय लगाएर लेखिएको सो अवसरमा कृतिकार डा. न्यौपानेले बताउनुभयो । देशलाई जान्न र बुझ्न चाहनेहरूका लागि अत्यन्तै उपयोगी यस पुस्तकको खोज र अनुसन्धान निकै गर्विलो भएको कुरा निबन्धकार तथा समीक्षक युवराज नयाँघरेले उल्लेख गर्नुभयो। कार्यक्रमको बीचबीचमा गजल र कविता वाचन गरिएको थियो ।
भुँडीपुराण प्रकाशन संस्थाका प्रकाशक केशवप्रसाद पराजुलीको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा अग्रज कवि तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेले पुस्तकमाथि विस्तृत चर्चा गर्नुभएको थियो ।

 

Comments are closed.