Trending Now

तीन नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भयो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसधनलाई कुनै बाधा नपार्ने सहमति शीर्षदलका ३ नेताबीच भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको ३ नेताको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै उनले यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरु मुछिएपछि उक्त घटना दबाउन ३ नेताले छलफल गरेको आशंका चलिरहँदा प्रधानमन्त्री प्रचण्डको यस्तो धारणा आएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच यस्तो सहमति भएको प्रचण्डले बताएका हुन् ।

‘हाम्रो भेटघाट मिडियामा आए जस्तो होइन। सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो। संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो’, उनले भने, ‘तर तपाईंहरुले भने जस्तो शंका गर्ने ठाउँ छैन। हामीले प्रहरीलाई निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएका छौँ। प्रहरीले आफ्नो विधिअनुसार काम गरेको छ’, उनले भने, ‘प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्व नगरौँ भन्ने सहमति हामीबीच भएको छ।’

Comments are closed.