काठमाडौं । त्रिमूर्ति निकेतनले यस वर्षका तीन विधाका पुरस्कार मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई प्रदान गरेको छ ।
सत्रौँ त्रिमूर्ति दिवसका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो । नाट्यसम्राट् बालकृष्ण समको १ सय २२ ओैँ जयन्तीका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा एक/एक लाख रुपैँया राशिका पुरस्कार प्रदान गरिएको छ ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव अवस्थीले उहाँहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो । विगत ६ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्द कविताको सिर्जना एवं छन्द काव्यको प्रचार प्रसार अभियानमा संलग्न प्रा.मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरिएको छ ।
त्यस्तै नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका गर्नुभएका हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको छ ।
विगत ६ दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत श्री जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ ।
ताम्र-पत्रका साथै तीनवटै पुरस्कारका राशि जनही एक लाख रुपैँया रहेको त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्व तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।