दीपेश पुनमाथि पहिलो चरणमा सहकारी हिनामिना सम्बन्धी अनुसन्धान हुने

काठमाडौं । शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशमाथि पहिलो चरणमा सहकारी हिनामिनामा अनुसन्धान हुने भएको छ ।रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न रुपन्देही प्रहरीले दीपेशलाई हिरासतमा राखेको हो । ८३ करोड रुपैयाँ हिनामिना भएको भन्दै १७ सय ३० सहकारीपीडितले उजुरी दिएका थिए । दीपेश यो सहकारीका संस्थापक कोषाध्यक्ष हुन् । सोही सहकारीका संस्थापक अध्यक्ष जीबी राई भने फरार छन् ।
सहकारी ठगीको संगठित अपराधमा भइरहेको अनुसन्धानका लागि सहकारीका अध्यक्ष ओम गुरुङ र कर्मचारी दुर्गा चापागाइँ पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् । कास्कीमा पक्राउ परेर हिरासतमा रहेका भविश्वर अर्याल र कुमार रम्तेललाई पनि बयानका लागि रुपन्देही नै पुर्याइएको छ । बचतकर्ताको रकम निजी कम्पनी गोर्खा मिडिया ग्रुपमा लगानी गरेको अभियोग लागेका जीबी राईको खोजी प्रहरीले जारी राखेको छ । जीबी राईसँगै सुप्रिम सहकारीकै रकम हिनामिनाको आरोप उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि लाग्दै आएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशमाथि सुन तस्करीमा संलग्न रहेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ । ६० किलो सुन तस्करीका आरोपी चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग निकट सम्बन्ध बनाएका पुन सुन तस्करीमा संलग्न रहेको आशंका गरिए पनि राजनीतिक दबाबका कारण उम्किँदै आएका थिए । दीपेशकै दाइ जितेन्द्र पुनको पनि सुन तस्करसँग तमसुक गरेको भिडियो नै सार्वजनिक भइसकेको छ ।