दूरसञ्चार प्राधिकरणले खारेज गर्‍याे तीन कम्पनीको अनुमतिपत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

काठमाडाैंकाे युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), काठमाडाैंकै म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरिएकाे प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ ।

तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको सूचनामा उल्लेख छ।

युटिएलले ०६० कात्तिक ५ गते, म्याक्स नेट प्रालिले ०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले ०७५ मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्याे । तर ती कम्पनीहरुले नविकरण नगरेपछि अनुमति पत्र नै खारेज गरिएकाे प्राधिकरणले जनाएकाे छ ।

नियमानुसार तिर्न-बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन समेत प्राधिकरणले ती कम्पनीलाई निर्देशन दिएको छ । रकम नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गरिनेे चेतापनि पनि प्राधिकरणले दिएकाे छ ।