काठमाडाैं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहगरी देशभर रिक्त रहेका २३ ठाउँमा उपचुनाव गर्ने तयारी भइरहेकाे भन्दै आयाेगले मतदाता नामावलीमा नाम दर्ता गर्न साेमबार सूचनामार्फत आह्वान गरेको हो ।
०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन, २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २३ पदहरू रिक्त भएकाले ती पदमा कानुन बमोजिम उपचुनाव मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेकाे आयाेगले जनाएकाे छ ।
उपचुनावद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी भइरहेकाे सूचनामा उल्लेख छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपचुनावको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयाेगले आग्रह गरेकाे छ ।