काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले देशमा सरकार छ भने रसियामा अलपत्र परेका नेपालीलाई सुरक्षित देश फर्काउन आग्रह गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै शाहीले देशमा सरकारको अनुभूति नहुँदा नेपालीले भारतसँग उद्धारको लागि सहयोग मागेका बताउनुभयो । ‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गरिदिनु पर्यो भनेर सहयोग मागिराख्नु भएको छ’, उहाँले भन्नुभयो ।
देशमा सरकार केबल कुर्सीको लागि मात्र भएको उहाँले बताउनुभयो । ‘कुर्सी छ, कहिले वारी, कहिले पारी, वारी जमुना पारी जमुना’, उहाँले भन्नुभयो ।
अहिले रसिया र युक्रेनको युद्धमा नेपालीले नेपालीलाई नै गोली हानिरहेका शाहीले बताउनुभयो । अहिले गोरखाकै प्रधानमन्त्री र परराष्ट्र मन्त्री हुँदा आफ्नै जिल्लाका नागरिकलाई पनि बचाउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो ।