देश अहिले संकटमा छ: देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले संकटमा रहेकाे बताउनुभएकाे छ ।

पार्टीको वाग्मती प्रदेश अधिवेशनकाे उद्घाटन समाराेहलाई शनिबार काठमाडाैंमा सम्बोधन गर्दै सभापति देउवाले देश संकटपूर्ण अवस्थामा रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ ।’

सभापति देउवाले देश संकटमा उभिएकाे बेला कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्नुपर्ने बताउनुभयाे । नेतृत्वदायी भूमिका निभाएर नै समावेशी, समानुपातिक व्यवस्था, गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरिएकाे उहाँले बताउनुभयाे ।

अहिले कुनै पनि दलकाे एकल बहुमत आउने अवस्था नरहेकाे भन्दै उहाँले यस्ताे अवस्थामा कांग्रेसलाई एकल बहुमतप्राप्त पार्टी बनाउनुपर्ने बताउनुभयाे । यद्यपि कांग्रेसलाई ठूलाे पार्टी बनाएकाे भन्दै सभापति देउवाले धन्यवाद दिनुभयाे ।