काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कामै नलाग्ने सरकार भएको बताउनुभएको छ ।
बिहीबार मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा पर्वतको कुस्मामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार काम गर्ने होइन काम बिगार्न बनेको बताउनुभयो । ‘देशमा एउटा सरकार त छ, सरकार छ, तर काम लाग्ने छैन, काम नलाग्ने छ, काम नलाग्ने मात्र होइन, काम बिगार्ने छ’, कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो ।
एमालले उत्तरबाट बाटो खोलेको भए पनि सरकाले त्यसको प्रयोग गर्ने आँट नगरेको ओलीले बताउनुभयो । एमालेले चुच्चे नक्सा बनाएर संविधानको अङ्ग बनाएको भए पनि वर्तमान सरकारले त्यसको कार्यान्वयन त के बोल्न पनि नसकेको ओलीको भनाई छ ।
सरकारका प्रमुखले भारत गएर बङ्गलादेश जाने बाटो दिन्छौ भने त्यो भूमि दिन्छौँ भनेर आपत्तिजनक अभिव्यक्ति दिनुभएको ओलीले बताउनुभयो । बङ्गलादेश जाने बाटो नेपालले पाइसकेको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘कसले तिनलाई अधिकार दियो जमिन छाड्ने ? जमिन छाड्छु भन्ने अधिकार कुनै सरकालाई छैन, यो जमिन लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो’, उहाँले भन्नुभयो ।
एयरपोर्टबाट ३५ क्विन्टल सुन छिर्दा पनि सरकारले समाउन नसकेको ओलीले बताउनुभयो । एक क्विन्टल सुन समातेकोमा त्यो पनि घटाएर ६० किलोमा सरकारले झारेको ओलीको आरोप छ ।
रुकुम र जाजरकोटमा भूकम्प प्रभावित नागरिक चिसोले दिनदिनै मर्दा पनि सरकारको ध्यान नपुगेको ओलीले बताउनुभयो । एमालेले भोलेन्टियर खटाएर काम गर्दा समेत सरकारले रोक्न खोजेको ओलीको भनाइ छ । पीडितको नाममा बैँकमा पैसा जम्मा भए पनि सरकारले पीडितको हातमा पुर्याउन नसकेको भन्दै ओलीले आलोचना गर्नुभयो ।
सरकारका कामले जनतामा निराशा र अन्यौलता मात्र बढेको ओलीले बताउनुभयो । देशमा मेडिकल कलेज खोल्न नदिने, नर्सिङ कलेज बन्द गरेर विद्यार्थीलाई विदेश पठाउने काम सरकारले गरेको ओलीले बताउनुभयो । अहिले ऋण काढेर कर्मचारीलाई तलब खुवाएर सरकार चलिरहेको उहाँले प्रष्ट पार्नुभयो ।
देशमा यही स्थिति रहने हो भने नेपाल असफल राष्ट्र तर्फ उन्मुख हुने ओलीले बताउनुभयो । नेपालको अस्तित्व संकटमा पर्नबाट जोगाउनु पर्ने उहाँको भनाइ छ । देशमा एमाले भएकोले देशलाई बरबादी तर्फ जान नदिने ओलीले प्रष्ट पार्नुभयो ।
देशको यस्तो अवस्थालाई हेरेर केही प्रतिक्रियावादी शक्तिहरू सलबलाएका ओलीले बताउनुभयो । नेपाली जनताले अनेक कष्ट सहेर राजतन्त्र फालेकाले अब राजतन्त्र नफर्किने ओलीले प्रष्ट पार्नुभयो ।
अहिले पहिचानवादीका नाममा केही व्यक्तिले जनतालाई भ्रममा पार्ने र अलमल्याउने काम गरिरहेका ओलीले बताउनुभयो । विदेशीको इशारामा केही व्यक्तिले वितण्डा मच्चाउने प्रयास गरेको उहाँले दाबी गर्नुभयो । उनीहरूले नेकपा एमालेको यात्रालाई कोशीमा प्रवेश गर्न दिँदैनौँ भनेर दिएको अभिव्यक्तिको ओलीले निन्दा गर्नुभयो । ‘कसैको बिर्ता होइन, कुनै भूभाग नेपालको, हामीले सामना गर्नु नपरोस्, यो बुद्धि छाडिहाल नत्र यो कुराले तिमीहरूलाई सत्यानाश गर्छ’, उहाँले भन्नुभयो ।
अहिले केही व्यक्तिलाई राम्रो भए पनि देश भने बरबाद भएको बताउनुभयो । ‘छोरी, ज्वाइँ, नाति-नातिनी सबै फलेको फुलेको छ, जनता, लडाकु, घाइते, शहीद, सहिदका परिवार बिर्सिएका छन् यिनीहरूले, आफ्ना निम्ति फलिफाप भएको छ’, उहाँले भन्नुभयो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, सहिदका परिवारका लागि केही गर्न नसकेको बताए । अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरू फेरि उठ्न थालेको बताए । उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताए ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मीक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रामा छ ।