धनी देशका गरिब नागरिक भयौँ : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा विकासको विराट सम्भावना हुँदा हुँदै पनि देशको अर्थतन्त्र रेमिट्यान्समा नै भर पर्नु पर्ने दुःखद अवस्था रहेको बताउनुभएको छ ।
शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेपालमा गणतन्त्र स्थापना भएको दुई दशक पुग्न लाग्दा पनि देशले आर्थिक विकासमा गति लिन नसकेको बताउनुभयो । कृषि, पर्यटन लगायतका क्षेत्रमा विकास गर्न नसक्दा देश आर्थिक रूपमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो । ‘साधन, स्रोतको हिसाबले हेरौँ, तर सम्पन्न देशका हामी गरिब नागरिक भयौँ’, उहाँले भन्नुभयो ।

उहाँले सबै राजनीतिक दलका नेताहरूलाई छातीमा हात राखेर देशको बारेमा सोच्न आग्रह गर्नुभयो । त्यसो गर्ने हो भने देशको स्वरूप परिवर्तन गर्न सकिने खनालले बताउनुभयो ।