कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली काठमाडौं फिर्ता भएको छ ।
सीआइबीका प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली अनुसन्धानका क्रममा प्रयोग गरिएका कम्प्युटर, फाइल तथा अन्य कागजपत्र लगायतका सबै सामान लगेर एक महिनाअघि नै काठमाडौं फिर्ता भएको हो ।यद्यपि सो घटनाको अनुसन्धान भने जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । २०७५ साउन १० मा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तको हत्या घटनामा सीआइबीको टोलीले अनुसन्धान गरिरहेको थियो ।
तर सो टोली ५ वर्षपछि काठमाडौँ फिर्ता भएको हो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको पाँच वर्ष पुगिसकेको छ। तर हालसम्म पनि प्रहरी अपराधीसम्म पुग्नसकेको छैन ।२०७५ साल साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।