नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ।
नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न\गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टाबाजी गर्न प्रतिबन्ध लगाएको छ। यस्तो कार्य भएको खण्डमा पहिलो पटक तीन महिना कैद र ३० हजार जरिवाना तथा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना र त्यसपछि कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म र १० हजार जरिवाना तोकिएको छ।
अर्कोतर्फ फिफाले आफूसँग आबद्ध आधिकारिक व्यक्ति वा संस्थालाई सट्टेबाजीमा संलग्न रहने अधिकार समेत दिएको छैन्। फिफाको आचारसंहिताले अफिसियल, खेलाडी, रेफ्री र म्याच एजेन्ट लगायत आधिकारिक मध्यस्तकर्तालाई सट्टेबाजी गराउन प्रतिबन्ध लगाएको छ। उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, सट्टेबाजी, जुवा, चिठ्ठा, यस्तै कार्यक्रम वा फुटबल खेल, कुनै फुटबल गतिविधिसँग सम्बन्धित लेनदेनमा भाग लिन निषेध गरिएको छ।
संलग्न भएको पाए धारा २६ अनुसार १ लाख स्विस फ्र्यांक जरिवाना र ३ वर्ष फुटबलसम्बन्धी गतिविधिमा भाग लिन प्रतिबन्ध लगाउन सक्छ। तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघका पदाधिकारीले खुलेआम सट्टाबाजीको लागि स्विजरल्याण्डको कम्पनीसँग गरेको सम्झौता बाहिरिएको छ। एन्फाको आयोजनामा हुने ए, बी, सी डिभिजन र महिला लिग मात्र होइन। फिफा, एएफसी, साफ र मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रसारणको बहानामा सट्टेबाजीको अनुमति दिएको हो।
एन्फा र स्विस कम्पनी इम्पावर स्पोर्टस् च सन् २०१८ सेप्टेम्बर १८ मा टेलिभिजनदेखि लिएर अनलाइन प्लेटफर्महरूमा नेपालमा हुने फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न पाउनेबारे सम्झौता भएको थियो। सन् २०२१ सेप्टेम्बर २१ मा एक वर्षका लागि सम्झौता नवीकरण हुँदा त्यसमा केही प्रावधान थप गरिएको छ, जुन सम्झौता प्रत्यक्ष प्रसारणमा मात्र सीमित रहेन। प्रतियोगिताका दृश्य र आवाज उसले अनलाइन जुवा खेलाउने कुनै पनि तेस्रो कम्पनीलाई बिक्री गर्न सक्ने, डेटा प्रयोगको अधिकार दिन सक्ने समेत उल्लेख छ।

यसमा एन्फाको प्रतिनिधिका रूपमा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा इम्पावरलाई नेपालमा एन्फाले आयोजना गर्ने र नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको अडियो र भिडियोमा अधिकारसँगै अनलाइनमा जुवा खेलाउने कम्पनी र बेटिङ सप्सहरूलाई समेत ती सामग्रीमा पहुँच दिने, अनलाइन मार्फत जुवा खेलाउने वेबसाइट, मोबाइल एप्ससँगै बेटिङ प्लेटफर्महरूमा समेत ती सामग्री राख्ने अनुमति दिने उल्लेख छ।
सम्झौताअनुसार एन्फाले उक्त कम्पनीलाई विशेष विश्वव्यापी, रोयल्टी–रहित, पूर्ण रूपमा भुक्तान गरिएको, धेरै तहमार्फत उप–लाइसेन्स योग्य र सबै एन्फा प्रतियोगिताहरू र राष्ट्रिय टोलीका खेलहरूको प्रयोगको अधिकारसहित स्वतन्त्र रूपमा हस्तान्तरण योग्य अडियो–भिजुअल अधिकार प्रदान गर्नेछ।
सम्झौतामा खेलमा आधारित जुवा खेलाउने तेस्रो पक्षलाई समेत प्रतियोगिताको लाइभदेखि लिएर सबै सामग्रीमा पहुँचको अधिकार दिनुपर्ने उल्लेख छ। यसका लागि उनीहरूले माइकुजो डेटा टुल्सको प्रयोग गर्ने समेत बताइएको छ। उसले एन्फाले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीको तालिका खेल भन्दा १० दिन अगावै दिनुपर्ने शर्त समेत राखेको छ।
नेपालको कानुन अनुसार सट्टेबाजी गराउन नपाउने भएकाले कानुनी रूपमा सट्टेबाजी गराउन मिल्ने देशमा गर्न पाउने गरी अनुमति दिएको एन्फा स्रोतले बताएको छ । एएफसीको ‘गाइडलाइन’ अनुसार सम्झौता भएको समेत बताइएको छ। एन्फाले सन् २०२० को सिजनमा लाइसेन्स शुल्क बापतको १२ हजार डलर छुट दिने समेत सम्झौतामा उल्लेख छ।​