नेपालको राजनीतिमा नयाँ कोर्सकाे संकेत, आजै सरकार परिवर्तन हुने सम्भावना

काठमाडौं । नेपालको राजनीतिमा एकाएक नयाँ कोर्स देखा परेको छ । एकाएक वर्तमान सत्ता गठबन्धन टुट्ने र नयाँ गठबन्धन सहित नयाँ सरकार बन्ने संंकेत देखिएको छ ।

मूलतः राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस र माओवादीले आफ्नो दाबी नछाडेपछि गठबन्धन एकाएक संकटमा परेको छ । त्यस अघि कांग्रेस महासमिति बैठकले पास गरेको राजनीतिक प्रतिवेदनमा माओवादीलाई हेर्ने दृष्टिकोणको विषयलाई लिएर गठबन्धनमा खटपट सुरु भएको थियो ।

आइतबार राति प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा जनता समाजवादी पार्टीका नेतासँग छलफल गरेपछि सत्ता समीकरण बदलिने करिब निश्चित भएको छ । यस विषमा छलफल गर्न आज एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका बैठक बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ ।

एमालेको सचिवालय बैठक पछि बैठकको निर्णयबारे जानकारी दिन पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास तर्फ लाग्नु भएको छ ।

यता एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गर्नुभएको छ । आजै सरकार परिवर्तन भएर सानो आकारको मन्त्रिपरिषद् बन्ने उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै, सानो मन्त्रिमण्डलले आज शपथ लिनेछ’, पाण्डेले लेख्नु भएको छ ।

आज बिहान वर्तमान सत्ता गठबन्धनको बैठक बस्ने भनिएको थियो । तर राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएपछि गठबन्धनको बैठक स्थगित भएको छ ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाउनुभएको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि उहाँले बैठक बोलाउनुभएको हो । बिहान देउवासँगै पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री दाहाललाई भेट्नु भएको थियो । कांग्रेस वर्तमान गठबन्धनलाई जोगाउन अन्तिम प्रयास गरिसकेको छ । सोही विषयमा छलफल गर्न बैठक  बोलाइएको हो ।