नेपाल प्रहरीका तेक्वान्दो खेलाडीलाई सफलता

 

काठमाडौं, ३० चैत

नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको ‘1st NTA Open Poomsae League Championship 2023’ अन्तर्गत नेपाल प्रहरीका तेक्वान्दो खेलाडीले ५ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १३ पदक हासिल गर्दै नेपाल प्रहरीको टिम च्याम्पियन भएको छ ।

प्रतियोगिता अन्तर्गत पुरूष सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दारहरू कमल श्रेष्ठ र जित बहादुर बोटले स्वर्ण पदक, महिला सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दार सिता तामाङले स्वर्ण पदक, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार कमल श्रेष्ठ र सिता तामाङले स्वर्ण पदक एवम् पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट, प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउतले स्वर्ण पदक हासिल गरेका छन् ।

यसैगरी पेयर पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल र प्रहरी जवान आश्मिन राउतले रजत पदक, महिला ग्रुप पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल, प्रहरी जवान सबिना घले र सुशिला राईले रजत पदक हासिल गरेका छन् । यसैगरी महिला ८ वर्ष मुनितर्फ रिया श्रेष्ठ, महिला सिंगल पुम्सेतर्फ सुशिला राई, पुरूष सिंगल पुम्सेतर्फ प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउत, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट र सुशिला राई तथा पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी जवान अन्जना चौधरी, प्रहरी जवान प्रदिप चौधरी र सागर बरालले कास्य पदक हासिल गर्न सफल भएका छन् ।