काठमाडौं । नेपाल र क्यानडाबीचकाे एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ ।
सिरिजको पहिलो खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिताको दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टाेलीका प्रशिक्षक मोन्टी देसाई र क्यानडकाे टाेलीका प्रशिक्षक पुबुदु दशानायके दुवै जनालाई नेपालको सफल प्रशिक्षक मानिन्छ । दशानायके यसअघि नेपालकाे प्रशिक्षक हुनुहुन्थ्याे । उहाँ राजीनामा दिएर क्यानडकाे प्रशिक्षक बन्नुभएकाे थियाे ।