पाँच हजार भूमिहीनलाई जग्गाधनी पूर्जा

काठमाडौं – सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराएको छ । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पूर्जा वितरण गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।

सरकारले भूमिहीन सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई आवश्यक कानुनी प्रबन्ध गरी भूमिसम्बन्धी समस्या समाधान गर्न गठन गरेको राष्ट्रिय भूमि आयोगमार्फत सङ्कलन गरेको निवेदन मध्येबाट छानबिन गरी उनीहरुलाई पूर्जा वितरण गरेको हो । आयोगले सबै स्थानीय तहलाई निवेदन पठाउन पत्राचारका साथै सूचना प्रकाशन गरेको थियो । जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि बनाइएको थियो ।

देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत स्थानीय तहले प्रमाणीकरण गरेपछि आयोगले उनीहरूको निवेदन सङ्कलन गरेको थियो । आयोगले करिब तीन वर्षको अवधिमा नौ लाख ८१ हजार भूमिहीन सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीका निवेदन सङ्कलन गरेको छ ।

नेपालको कूल क्षेत्रफलको लगभग २८ प्रतिशतमा आवादी छ । यस आवादी क्षेत्रको करिब ७५ प्रतिशत जमिन नापजाँच भई राज्यको आधिकारिक दर्ता रजिस्ट्ररमा अभिलेख भएको छ । त्यसको दर्ता स्रेस्ता र प्रमाणपूर्जा तयार भएको छ ।